युवा

“युवा” को अर्थ शारीरिक विकासक्रमको हिसाबले बाल्यावस्था पछी र वृद्धावस्था पूर्वको उमेर साथै मानसिक हिसाबले स्फूर्त र सटीक सोचका साथ कार्य सम्पादनको क्षमता भएको उमेर हो । आफ्ना अनुभव र सिकाइलाई व्यवस्थित गर्दै अघि बढ्नुपर्ने अवस्था युवाअवस्था हो । आफ्नो उत्पादनशीलता, सिर्जनशीलताका साथ देशलाई समृद्धिको बाटोमा हिडाउन सक्ने शक्ति हो युवा। नेपालको विकास र उन्नतिको सन्दर्भमा युवाको भूमिका अत्यन्तै महत्वपूर्ण विषय हो ।

    विश्वका जतिपनि ऐतिहासिक र चमत्कारी आविष्कार छन, तिनमा युवाको प्रत्यक्ष संलग्नता छ ।अन्तर्राष्ट्रिय जगतको कुरा गर्दा सन् १८७९ मार्च १४ मा जन्मिएका अल्बर्ट आइन्स्टाइनले वैज्ञानिक सिद्धान्तहरुको प्रकाशन शुरु सन् १९०५ बाटै गरे । २६ वर्षको कलिलो उमेरमै ‘मिराकल इयर’ शुरु भयो । सन् १९१६ मा प्रख्यात पत्रिका एन्नालेन डेर फिजिकमा ‘जेनेरल थ्योरी अफ रिलेटिभिटि’ प्रकाशित गरेपछि उनको चर्चा ‘क्लाइमेक्स’मा पुग्यो । सन् १९५३ मा २५ वर्षको उमेरमै डाक्टर बन्नुभएको चेग्वेभाराकै कारण क्युवाली क्रान्तिको अन्तिम विजय सम्भव भयो । एलेक्जेंद्र द ग्रेट एक सफल मिलिटरी कमान्डर मानिन्छन । १६ वर्षकै कलिलो उमेरमै उनले आफ्नो पहिलो ‘कोलोनी’ पत्ता लगाए जसको नाम ‘एलेक्जेंद्रोपोलिस’ राखे । ३० वर्षको उमेरमै मार्क्सले उनका सहयोगी फ्रेडरिक एंगेल्ससंग मिलेर विश्व तरंगित गर्ने कम्युनिष्ट घोषणापत्र प्रकाशन गरे । सन् १९७३ मा जन्मिएका सचिन तेन्दुलकरले ११ वर्षको उमेरबाटै क्रिकेट खेले । विश्वकै सबैभन्दा बढी रन स्कोरर तेन्दुलकर ‘गड अफ क्रिकेट’ भनेर चिनिन्छन । १८ वर्षकै उमेरमा स्विडेनको विश्वकप फुटवलबाट पेलेले व्यापक प्रशंसा बटुले । १७ वर्षको उमेरमै मलाला युसफजईले नोवेल शान्ति पुरस्कार प्राप्त गरिन । विश्व इतिहासमा युवाको अतुलनीय योगदान देखिन्छ समाज र राष्ट्रका प्रति ।

नेपालको इतिहास पनि युवाको उपलब्धिले जाज्वल्यमान छ। वि.स.१९८३ र २०१० सम्म जम्मा २७ वर्ष वाचेका भीमदत्त पन्त सुदूरपश्चिममा शोषक र सामन्त विरुद्ध आजीवन लडे । ३६ वर्षको उमेरमा २००७ सालको क्रान्तिको नायक वि.पी कोइरालाले युवाअवस्थामा प्रजातन्त्रको लडाइको नेतृत्व गरे । ४० वर्षको उमेरमा २०४९ मा मदन भण्डारीले कम्युनिष्ट पार्टीको लोकतान्त्रिकरणको नॅंया आयाम थपे । नारायणगोपाल सानै उमेरबाट गाउथे । स्वरसम्राट भनेर चिनिने उनका गीत अहिले पनि जीवन्त छन । युवावस्थाबाटै साहित्यमा सक्रिय देवकोटा ‘महाकवी’ बने। ७५ वर्ष पहिले पूर्वी पहाडमा योगमायाले थालेको शान्तिपुर्ण विद्रोहको इतिहास अहिले पनि प्रेरणाको स्रोत बनिरहेको छ । जतिपनि इतिहास रचिएका छन् ति सबै युवावस्थामा रचिएका छन्।

 इतिहासकै यस्ता राम्रा उदाहरण मानव सभ्यताकै गहना हुन्। युवाहरुको समायानुकुल चिन्तन नै वर्तमानको आवश्यकता हो। राष्ट्रको आवश्यकता हो।

वर्तमान समयमा कोरोना महामारीले ग्रस्त विश्व समुदायमा  युवाहरूले महत्वपूर्ण भूमिका निर्भाह गर्नु पर्ने दायित्व छ।नेपाली युवाहरू वैदेशिक रोजगारबाट सिप र दक्षताका साथ  फर्किएका छन।युवाको यो दक्षतालाई देशमै सदुपयोग गर्न आवश्यक छ।देशको सामाजिक,राजनीतिक,व्यापारिक आदि अनेकौ क्षेत्रमा युवाको संलग्नता अपरिहार्य छ।कृषि क्षेत्र पनि युवा शक्तिको नेतृत्वमा चलायमान भएको उदाहरण वर्तमान समयमा यत्रतत्र देख्न सकिन्छ।राजनीतिक क्षेत्रमा साथै व्यापारिक क्षेत्रमा पनि युवाहरूको भुमिका बढ्दो हुनु देशको लागि सकरात्मक संकेत हो।यसरी नै देशका सबै क्षेत्रमा युवाहरूको पहुच बढ्दै जाने हो भने देशको संवृद्धि र उन्नति तीव्र हुने छ।

Leave a Comment